केचनामा गाेली चल्याे, भारतीय तितरवितर

विर्तामाेड । काेराेना संक्रमणकाे त्रासका बीच सीमामा हुने आवातजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएकाे छ ।

झापाकाे कचनकवल गाउँपालिका १ घेराबारीमा रहेकाे सशस्त्र प्रहरीकाे सुरक्षा पाेष्टमा भारतीय नागरिकले आक्रमण गरेका छन् ।

शनिबार राति करिब सय जनाकाे संख्यामा आएका भारतीयहरुले घेराबारीकाे झन्टुगाउँमा रहेकाे सशस्त्र प्रहरीकाे सुरक्षा पाेष्टमा आक्रमण गरेका हुन् ।

खबरमञ्चसँग कुरा गर्दै वडाध्यक्ष लक्ष्मी यादवले साँझ करिब ७ः३० काे समयमा विहारकाे सुरिभिट्टातर्फबाट उक्त आक्रमण भएकाे बताए ।

‘गाईवस्तु चराउन नदिएकाे  रिसमा उनीहरुले १२५ सीमा पिलरमा खटिएको सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन्,’ वडाध्यक्ष यादवले भने ।

भारतीयले आक्रमण गर्न थालेपछि नेपाल तर्फबाट सिंगाे गाउँनै प्रतिकारका उत्रिएकाे थियाे ।

वडाध्यक्ष यादवका अनुसार भारतीय तर्फबाट आक्रमण नराेकिएपछि प्रहरीले हवाइ फायर समेत गर्नु परेकाे थियाे ।

आक्रमणबाट सशस्त्र प्रहरीकाे पाेष्ठमा क्षति भएकाे छ । अहिले अवस्था साम्य भएपनि आइतबार विहान भारतीय एसएसबीसँग यस विषयमा छलफल गर्ने वडाध्यक्ष यादवले बताए । उनले भन‍े, ‘यसरी हाम्रा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने अधिकार कसले दियाे । हामी प्रश्न गर्छाैं र कारवाहीकाे माग गर्नेछाैं ।’